साहित्यकार ताना शर्माको ८७ वर्षको उमेरमा मंगलवार निधन
वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलवार निधन भएको छ । उनी ताना शर्माका नामशबाट लोकप्रिय थिए ।
वि.सं. १९९१ असार ९ गते इलामको बरबोटमा जन्मेका उनीले ‘झर्रोवादी आन्दोलन’का १ अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास र समालोचना लगायत विधामा दर्जनौं कृति लेखेका छन् । डा. शर्माले ‘बेलायततिर बरालिदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।
उनी पाठ्यपुस्तक लेखक पनि थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि मंगलवार मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।
