बागमतीमा निर्वाचनमार्फत संसदीय समितिको सभापति टुंगो लगाउन दलहरू सहमत
बागमती प्रदेशसभामा रिक्त पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ ।
प्रदेशसभा अन्तर्गतको पाँचवटै समितिको सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि अझै सहमति नहुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
सभापति पद सर्वसम्मत चयन गर्ने सहमतिको प्रयास जारी रहेको र त्यो नभए जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको उनले बताए ।
प्रदेशसभाको सोमबार बस्ने बैठक अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सहमति गरिएअनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिने सभामुख पाठकले बताए ।
बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन ।
