महानगरका सडक : अस्तव्यस्त सवारी, पैदलयात्रीलाई सास्ती – Sahayogi Man Nepal

महानगरका सडक : अस्तव्यस्त सवारी, पैदलयात्रीलाई सास्ती

अनिता कुँवर
काठमाडौं, ६ कात्तिक ।

काठमाडौँ महानगरपालिकामा पैदलयात्रा गर्ने यात्रीलाई सहज छैन । सडकमा पर्याप्त सवारी साधनको व्यवस्था छ । त्यसैले सडकमा सवारी जाम उत्तिकै छ । पैदलमार्गमा पर्याप्त रुपमा दुईजना मात्रैले पनि आवात–जावात गर्न समस्या छ । खासमा सडक किनारा या फुटपाथमा हिँड्नका लागि त कतै बाटो नै छैन । सडक पेटीमा यात्रा गर्दा कतिपय स्थानमा घरका पेटी परेका छन् र सडकमै ओर्लेर हिँडनुपर्ने अवस्था छ । यसैकारण सवारी दुर्घटना बढेको देखिन्छ ।

महानगरले हालसालै सडकमा व्यापार गर्ने फुटपाथ व्यापारीका सामान जफत गरी बाटो खाली गरेकाले पैदलयात्रीलाई केही सहज भएको छ । बर्षौंदेखि सडकमा व्यापार गरेर जीविका चलाउँदै आएका व्यापारीहरुलाई कुनै विकल्प नदिई उल्टै सामान समेत जफत गरेर ठूला चाडबाडको मुखमा रोजगारविहीन बनाइदिएको छ ।महानगरको यो कदमले पैदलयात्रीलाई केही सहज भए पनि सडक पेटीमा हिँड्दा अझै अरु समस्या थुप्रै छन् ।

सडक पेटीमा यात्रा गर्दैगर्दा पैदलमार्गको बीचबीचमा बिजुलीका पोल भेटिन्छन् । फोहोरका डङगुर समेत हिँड्ने बाटोमै फ्यालेकाले वातावरण निकै दुर्गन्धित छ । पानी परेको बेलामा हिलाम्मे सडक किनारमा हिँडदा सवारी साधनले हिलो छ्याप्ने समस्या छदैछ । घाम लागेको समयमा धुलो–धुवाँको सास्ती अर्कातिर छँदैछ । महानगरले विकाससम्बन्धी कुनै ठोस योजनाविनै संरचना बनाउन अनुमति दिएका कारण र सरकारी निकायबीच नै समन्वय हुन नसक्दा पहिल्यै बनिसकेका संरचनाहरु मिलेका देखिँदैनन् ।

देशैभरका मानिसहरु बसोवास गर्ने देशकै सुविधासम्पन्न सहरको रुपमा परिचित काठमाडौंको अवस्था विकराल छ । यही काठमाडौंमा कतिपयका भने सपना साकार भएका छन् । कतिपय भने एक पेट खानैका लागि दिनरात, झरीबादल नभनी मिहिनेत गरिरहेका छन् । नेपालको राजधानी सहरमा वषौंदेखि पेटीमा हिँडने पैदलयात्रीलाई जुन सरकार आए पनि प्राथमिकता दिएको देखिदैन । केहीले केही प्रयास गरे पनि यसलाई पूर्णता दिन सकेको देखिँदैन ।

पैदलयात्रीलाई मध्यनजर गरेर सडक पेटी बनाएको देखिँदैन । सम्पूर्ण सुविधासम्पन्न सहर काठमाडौंमा पैदलयात्रीलाई सास्ती मात्रै देखिन्छ । वषौंवर्ष पुराना सवारी साधन सडकमा सञ्चालन भइरहँदा प्रदूषण उत्तिकै छ । उचित समयमा गन्तव्यमा पुग्नका लागि कुनै सवारी साधन विश्वसनीय छैनन् । के निजी, के सरकारी । हरेक स्थानमा समयको मुल्य नै छैन । तर, सरोकारवाला निकाय मौन छन् । सार्वजनिक सवारी साधनप्रति जनविश्वास कम छ ।

परिणामस्वरुप दुईपाङ्ग्रे र साना सवारी साधनमा मान्छेको आर्कषण व्यापक देखिन्छ । सार्वजनिक सवारी साधन जनताको रोजाइमा पर्न सकेका छैनन् । यसले दुर्घटनाको दरलाई बढवा दिएको छ । सरोकारवाला निकाय लाचार छन् । सार्वजनिक सवारी साधनमा पनि बिहान कार्यालय समयमा प्रयाप्त सवारी साधन नपाइने र पाइहाले पनि झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । यस समयमा भिडभाड हुँदा समयको फाइदा उठाउदै उपयुक्त रोजगारी नपाएर बरालिएका चोरहरुको विगविगी उत्तिकै छ ।

सरकारले जनताको मनोभावनाको उचित सम्बोधन गर्न नसक्दा होनहार युवायुवती काम गर्न छोडेर भिडभाडको समयमा चोरी कार्यमा सामेल भएका देखिन्छन् । यसको उदाहरणको रुपमा म स्वयम् कार्यालय समय सकेर करिब पाँच बजेको समयका सेतोपुलदेखि बौद्धसम्मको यात्रामा दिनदहाडै मेरो मोवाईल चोरी गरी सहजै चोर उम्कन सफल भयो । यो घटनामा मैले सहायता माग्दा न बसमा यात्रा गर्ने कुनै मानिसले पनि सहयोग गरेनन् जसको फलस्वरुप म आफै फलो गर्दा कसैले सहायता गरेनन् परिणाम स्वरुप मैले मेरो मोवाइल गुमाउनु पर्‍याे ।

यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यो अवस्थामा बस सञ्चालक र चोरहरुबीच केही सम्बन्ध छ कि भन्न सकिन्छ । यस्तै भिडभाडको समयको फाइदा उठाएर सार्वजनिक यातायातमा दैनिक धेरै यात्रु लुटिन्छन् । यसको कारण नखोजी प्रहरीले पटक–पटक बरालिएर बस्ने युवा चोरहरुलाई पक्रदै केही समय थुनामा राखेर छोड्ने गरेको देखिन्छ । यसले चोरीको घटनामा कमि आएको देखिदैन । यसलाई निराकरण गर्न सरोकारवाला निकाय असफल छ । बेलुकाको समयमा कति समयसम्म सार्वजनिक यातायात पाइन्छ ठेगानै हुँदैन् । यसमा निजी र सरकारी यातायात दुवै फितलो देखिन्छ ।

समयको कुनै परवाह छैन् मनोमानी रुपले सञ्चालन गर्दा यात्रीलाई सुबिधा भन्दा सास्ती नै बढी छ । बेलुका करिब सात बजे पछाडि सार्वजनिक सवारी पाउनै मुस्किल छ । यतिसम्मकी रत्नर्पाकबाट सार्वजनिक सवारी चड्न स्कुलमा पढ्न जाँदा जस्तै लाईन बस्नु पर्छ । काँही नभएको जात्रा महानगरमै छ । यस्तै सार्वजनिक सवारी साधनको विकल्पको रुपमा पठाओ जस्ता सुविधा थपिएको छ । यसले पनि केही सुविधा बढाएको छ तर यो सुपथ भने छैन् ।  सर्वजनिक यातायातको विकल्पको रुपमा आए पनि यो विवादरहित भने छैन ।

रातो नम्बर प्लेटले सार्वजनिक कालो प्लेटको काम गरेको भनेर यातायात व्यावसायी नै सन्तुष्ट छैनन् । यद्यपि केही बेरोजगार युवाले गरिखाने बाटो पाएका छन् यो पनि सुविधा हो तर सुपथ छैन् । यसरी धुवाधुलो र प्रदुषणको शिकार भइरहेको पाइन्छ सडकमा यात्रा गर्ने पैदलयात्री, यस्तै सडक पार गर्ने पर्याप्त जेब्राक्रसिङ समेत स्पस्ट छैनन् । यसले जताबाट मनलाग्यो त्यतैबाट बाटो क्रस गर्दा पैदलयात्री दुर्घटनाको सिकार बन्न पुगेका देखिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै