एसियन कप छनोट, नेपाल कुवेतसँग पराजित : अन्तिम खेल इन्डोनेसियासँग यही जेठ ३१ गते – Sahayogi Man Nepal

एसियन कप छनोट, नेपाल कुवेतसँग पराजित : अन्तिम खेल इन्डोनेसियासँग यही जेठ ३१ गते

‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

कुवेतको जितमा युसेफ अलसुलिमानले २ गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले १–१ गोल गरे । खेलमा नेपालका दर्शन गुरुङले १ गोल फर्काए । खेलको २८औं मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ४८औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । यसैगरी खेलको ७३औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले १ गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।

यता कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेल इन्डोनेसियासँग यही जेठ ३१ गते खेल्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै