मानसिक रोगकाे सिकारले पनि बलात्कारका घटना घटन सक्छन।
पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु दिनानु दिन बढदै गइरहेका छन। बलात्कारमा शिशुदेखि ९२ वर्षकी वृद्धासमेत परेका छन् । अझ परिवारभित्रैबाट हिंसा र बलात्कृत भएका छन् । सामूहिक बलात्कार भएका छन् । बलात्कार र बलात्कारपछि हत्या भएका छन् । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएका छ। बलात्कार ब्यक्तिको मान सम्मान र प्रतिष्ठा बिरुद्धको अपराध हो । बलात्कारका घटना बढनुको पछाडि धेरै कारणहरु हुन सक्छन । जस्तो गरिबी , बेरोजगारी , यौन शिक्षाको कमी, इन्टरनेट तथा सामाजिक संजालको दुरुपयोग , फितलो कानुन र न्याय प्रणालीमा ढिला सुस्ति , पुरुषबादि सोच र हैकम आदिको कारणले गर्दा पनि बलात्करका घटनाहरु बढदै गएको पाईन्छ ।
यसका अलबा बलात्कारका घटना हुनुको पछाडि केही मनोबैज्ञानिक तथा मानसिक स्वास्थ्य समस्याले समेत भुमिका खेलिरहेको हुन्छ । बलत्कार कसुरमा सजायको ब्यबस्था कानुनले स्पष्टसँग गरेको छ । मुत्यु दण्ड बा कडा कानुनले मात्र यस्तो अपराध कम हुन्छ भन्न सकिँदैन । नेपालको संविधान र नेपालले अन्तर्राष्ट्रिय जगतमा नेपालले गरेका सन्धि सम्झौताका आधारमा पनि मुत्यु दण्डको कानुन बनाउन सकिदैन । यसको लागि शिक्षा , चेतनाको बिकास नै उतम उपाय हो ।
बलात्कारीको यौन अंग छेदन गर्नु पर्ने , मुत्यु दण्ड दिनु पर्ने भन्ने जस्ता आवाजहरु जनस्तर तथा सांसदहरुबाट समेत आउन थालेका छन । तर बलात्कारका घटनामा यस्ता केहि मानसिक रोग तथा मनोबैज्ञानिक कारणहरुले प्रभाव पारिरहेको हुन्छ । जसको निराकरण बिना यस्ता घटनामा कमि आउदैनन।
बलात्कारका घटनाहरु किन हुन्छन ? बलात्कारका घटनाहरु हुनुका पछाडीका मानसिक तथा मनोबैज्ञानिक कारणहरु यस्ता हुन सक्छन् ।
असामाजिक ब्यक्तित्ब : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । ब्यक्तित्बसगँ सम्बन्धित यस्तो मानसिक समस्या भएका ब्यक्तिले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या, बलात्कार गर्न समेत पछि नपर्ने जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न सक्छन ।
यौनको लत : यौनको लत लागेका ब्यक्तिहरु यौन प्रति अति नै आशक्त हुन्छन । उनीहरुमा कहिल्यै यौनको प्यास मेटिदैन । यस्तो खालको यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त, बालबालिका केही पनि नभन्न सक्छन । बलात्कार गर्न समेत पछि पर्दैनन् ।
अप्राकृतिक यौन व्यवहार : जो व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , उनीहरुले अरुको भावना बुझ्न सक्दैनन र स्वभाबिक यौन व्यवहार गर्न पछि पर्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्न सक्ने सम्भावना बढि हुन्छ ।
नैतिक पतन : नैतिक रुपमा पतन भएका ब्यक्तिले तल्लो स्तरको ब्यबहार गर्न पनि पछि पर्दैन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिहरुबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन ।
यौन कुण्ठा : अबिबाहित, श्रीमतिबाट यौन सन्तुष्टि प्राप्त गर्न नसकेको अबस्थामा तथा यौन कुण्ठाले भरिएको ब्यक्तिले बलात्कार गर्न सक्छन ।
लागू प्रदार्थको सेबन : हाम्रो समाजमा धेरै जसो बलात्कारका घटनाहरु लागू प्रदार्थको सेवनका कारणले हुने गरेको देखिन्छ । जाँड रक्सी तथा लागू प्रदार्थ सेबन गरेका बेला ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलात्कारका घटना घटन सक्छन् ।
पोनोग्राफी र साईबर सेक्सको लत : पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसँग शारिरिक सम्बन्ध, भन्नेजस्ता टाईटलमा अस्लित भिडियो धेरै भेटिन्छन। यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको व्यक्ति नैतिक रुपमा पतन हुने सम्भावना हुन्छ । यस्ता कुराहरुबाट यौन शिक्षा बटुलेका किशोर किशोरीमा यौन बिचलन आउन सक्छ ।
मानसिक रोग : मेनिया वा उन्माद नामक कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार अव्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो देखिदैन । उसमा आत्मबल, जोस शारीरिक शक्ति बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ। जुनसुकै बेला र जो सुकैसँग पनि शारीरिक सम्बन्ध राख्न तयार हुन्छ । यौनको आवेगलाई नियन्त्रण गर्न सक्दैन । यस्ता व्यक्तिबाट बलात्कारका घटनाहरु हुन सक्छन् ।
शरिरिक कारण : विभिन्न कारणहरुले शरिरमा सेक्स हर्मन बढदा यौन चाहना पनि बढ्छ । यस्तो अबस्थामा आफुलाई यौन अनुशासनमा राख्न नसक्दा बलात्कारका घटना हुन सक्छन ।
अति बिश्बास गर्नु : घर परिबारका सदस्य तथा आफन्तहरु बिच चाहिने भन्दा बढि घनिष्टता हुनु , अरुलाई अति नै बिस्बास गर्नु तथा नाता – सम्बन्ध अनुसारको व्यवहार गर्न नजान्नु र यौनको मामिलामा अनुशासन र दायरा भित्र बस्न नजान्दा पनि हाडनाता करणीका घटना हुन पुग्छन।
मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहार र यौन शोषणमा परेका ब्यक्तिहरु पछि गएर आफू पनि यौन अपराधी हुन सक्छन ।
बदलाको भवना र प्रतिशोध :
कतिपय अबस्थामा जानिजानी तथा रिस र उत्तेजनामा बदलाको भावना लिएर प्रतिसोध साध्ने उदेश्यले पनि यस्ता घटना भईरहेका हुन्छन ।
यौन अनुशासन नहुनु : यौन अनुशासन नभएको , पतित , बिखण्डित तथा चरित्रहिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलित हुन सक्छन ।
यी र यस्ता अन्य यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण यौन अपराध , जबर्जस्ती करणीका घटनाहरु हुन सक्छन । बलात्कारको घटनामा संलग्न ब्यक्ति मानसिक रुपमा स्बस्थ ब्यक्ति होइन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र ब्यबहार गर्छ । कुनै कार्य गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । तर यी र यस्ता गुण नभएको ब्यक्तिलाइ मानसिक रुपमा अस्वस्थ मानिन्छ ।
गोपाल ढकाल , मनोबिद्, (लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा आबद्ध छन् )
