सदन सञ्चालन हुनेमा सरकार आशावादी
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारीस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
संसद्को आईवारको बैठकपछि बाहिरीने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरुले सकारात्मकरुपमा लिएको उल्लेख गरे ।
मन्त्री बडूले भने– ‘उनीहरूले नाम पनि दिएका छन् । हुन्छ र हुन्नको प्रक्रियामा नाराबाजी भए पनि समर्थन नै छ, अब प्रक्रिया अगाडि बढ्छ । अब संसद् सञ्चालन होला कि भन्ने आशा बढेको छ ।’
संसद्भित्र जनताका सरोकारसँग जोडिएका नागरिकतालगायत अत्यन्त महत्पूर्ण विधेयकलाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेको बताउँदै मन्त्री बडूले प्रतिपक्षीको सहयोग भएमा सदनलाई प्रभावकारी ढङ्गले अगाडि बढाएर जनतासँग जोड्न प्रतिबद्ध रहेको बताए ।
सदन सधैं अवरुद्ध भइरहने हो भने जनताबाटै प्रश्न उठ्दै जाने भएकाले यसलाई भरपुर चलायमान बनाएर लैजानुपर्छ भन्ने सरकारको धारणा रहेको बताए । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले सदन पनि चल्न नदिने, भत्ता पनि खाने अनि हामीहरुलाई हैरान पार्ने अवस्थाको अन्त्यको लागि अग्रिम निर्वाचन पनि एउटा विकल्प हुने सङ्केत गरे ।
उनले भने– ‘लामो समयदेखि सदन अवरुद्ध भइरहेको अवस्थामा अग्रिम निर्वाचनको हल्ला चल्नु स्वाभाविक हो ।’ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी सदैव संसदीय विधि र प्रक्रियामा विश्वास गर्ने भएकाले महाभियोगको प्रक्रियालाई ठीक ढङ्गले निकास दिन महाभियोग सिफारीस समितिमा रहने सदस्यको नाम पठाएको बताए ।
उनले भने– ‘बैठकमा विरोध जारी छ, स्थानीय तहको निर्वाचन सार्ने हो वा के गर्ने हो रु हामी हेर्दैछौं तर निर्वाचनमा जान भने डराउँदैनौं ।’
