प्रदेश १ का उम्मेदवार शेखरचन्द्र थापाको निधन – Sahayogi Man Nepal

प्रदेश १ का उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । ५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए ।

उपचारकै क्रममा बुधबार बिहान साढे १० बजेतिर थापाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए ।

उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो । पछि उनलाई निमोनियासमेत भएको थियो । उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा केही दिन उपचार गराएर पुन: विराटनगर नै लगिएको थियो । उम्मेदवारकै निधन भएपछि यो क्षेत्रको चुनाव के गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन ।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए । थापाका श्रीमती, एक छोरी र एक छोरा छन् । थापाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केही वर्ष स्वकीय सचिवसमेत भएर काम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै