स्व नेता प्रदीप गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औं पुण्यतिथिका अवसरमा काठमाडौं क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा १०८ बिरुवा वृक्षरोपण गरिएको हो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए । ‘स्व गिरी जहाँ गए पनि रुखको छहारीमा बस्थ्य, प्रकृतिसँग रमाउने उनको बानी थियो, उनको आत्माको शान्तिका लागि हामीले उनको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हौं’ उनले भने ।
महामन्त्री थापाले स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पारे । उनले स्व गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्नसमेत सबैलाई आग्रह गरे । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य, कांग्रेस नुवाकोटका पूर्वसभापति एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो ।
