कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामीकाे सङ्ख्या बढे
दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा ४ र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा २ हजार २ सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।
एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार ७ सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट १ हजार ८ सय ९३ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार ४ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार २ सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार २ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा १ लाख ३ हजार ९ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २ करोड ३२ लाख ४६ हजार ३ सय ८९ पुगेको छ ।
सोमबारको तुलनामा मङ्गलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार ७ हजार २ सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ । नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या ४ करोड ४४ लाख २८ हजार ३ सय ९३ पुगेको छ । मङ्गलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर ५ लाख २७ हजार ८ सय ७४ जनाको ज्यान गइसकेको छ ।
