पाकिस्तानमा अविरल वर्षा र बाढीका कारण १५ सयभन्दा बढीको मृत्यु, १२ हजार घाइते
पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ । एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा ५ सय ५२ बालबालिका र ३ सय १५ महिला रहेका छन् ।
देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ । यहाँ यस प्रकोपमा परी ६ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ । त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः ३ सय ६ २ सय ९९ जनाको मृत्यु भएको जनाइएको छ ।यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार ९ सय ७८ घरहरू ध्वस्त भएका र ९ लाख ४३ हजार ९ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।
यस मौसमी वर्षा र बाढीकोकारण १२ हजार ७ सय ३५ किलोमिटर लामो सडक र ३ सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित ३ करोड ३० लाख ४६ हजार ३ सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।
