नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्योस अमेरिका : एमसिसी कार्यान्वयनको दिशामा – Sahayogi Man Nepal

नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्योस अमेरिका : एमसिसी कार्यान्वयनको दिशामा

   February 28, 2022  

काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्ने उल्लेख गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ ।

एमसिसीले २० वर्षको अवधिमा विभिन्न देशमा गरिबी निवारणमा मद्दत गरेकोसमेत उक्त विज्ञप्तिमा जनाइएको छ । ‘२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो ।

अब ५ वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ, दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ गठबन्धनले एमसिसीबारे व्याख्यात्मक टिप्पणीसहित संसदबाट यो सम्झौता अनुमोदन गरेका थिए ।

यस्तो छ एमसीसी नेपाल कम्प्याक्ट संसद्‌को अनुमोदनका सम्बन्धमा विज्ञप्ति :

५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो । हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता पनि एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेका छन् । आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचार विरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो । अब यस ५ वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं ।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै