नेपाल र पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता फागुन १८ देखी हुने
पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दूतावासले सोमवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९ सम्म ७औं संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।
दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्ष झै यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । ‘क्रिकेट पाकिस्तानको महत्वपूर्ण खेल भएकाले यसैबाट २ देशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हौं ।’– उनले भने– यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटर्फमका रुपमा रहेको बताए । उनले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिए ।
प्रतियोगिताका लागि शुभकामना दिँदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरुको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा २ देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिताका खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ ।
