आजकाे माैसम केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सोमवार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाएको छ ।
बिहान र बेलुकीका समयमा चिसो रहने हुनाले यसबाट जोगिन र पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री र अधिकतम तापक्रम १९.४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –२.८ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सियस छ ।
