टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालद्वारा ओमान पराजित – Sahayogi Man Nepal

टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालद्वारा ओमान पराजित

   February 18, 2022  

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा शुक्बार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।

कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो ।

ओमानका नसिम शुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले ९, जतिन्दर सिंहले ९, खवर अलीले ७, फैज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।

त्यसैगरी अविनाश बोहरा र जीतेन्द्र मुखियाले १–१ विकेट हात पारे । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए ।

कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहेका छन् । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमलसिंह ऐरीले १ रन बनाए ।

ओमानका खवर अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले २ तथा फैज बट, जिसन मक्सुदले १–१ विकेट लिए । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै