सत्ता साझेदार दलको बैठक फेरी आइतबार बस्ने – Sahayogi Man Nepal

सत्ता साझेदार दलको बैठक फेरी आइतबार बस्ने

   February 18, 2022  

प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताको बैठक निष्क्रषमा नटुङ्गिएकाले पुनः छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी शुक्रबारको बैठक समाप्त भएको हो । अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको छ ।

शुक्रबारको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता संसद्मा टेबल गर्नेबारेमा सकारात्मक रुपमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले आइतबार हुने बैठकले साझा अवधारणा बनाउने गरी शुक्रबारको बैठक समाप्त भएको छ’, उनले भने ।

एमसिसी सम्झौता शुक्रबारको संसद् बैठकमा टेबल गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री कार्कीले कार्यव्यवस्था परामर्श समितिको शुक्रबारको बैठकले निर्णय गर्ने छ भने । बैठकमा प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षीको समेत रहेकाले हालको गतिरोध अन्त्यका लागि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको बारेमा जानकारी गराइएको मन्त्री कार्कीले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता साझेदारका शीर्ष नेताको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै