पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो हप्तामा हुने
११ पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । लिनिङले मुख्य प्रायोजन गर्ने भएपछि अब प्रतियोगिताको नाम ‘लिनिङ ११औं पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगितालाई नखिपोट युथ क्लब–ब्याडमिन्टन सर्कलले साथ दिँदै संयुक्त आयोजकका रुपमा आफूलाई उभ्याएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिए । ललितपुरको नखिपोटमा उक्त प्रतियोगिता आगामी फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा सङ्घसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुष एकल ९राष्ट्रिय वरियतामा १६औं स्थानसम्मका०, पुरुष एकल (१६औं बरियतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय वरियतामा १२औं स्थानसम्मक), महिला एकल (१२औं वरियतादेखि बाहेकका), महिला युगल (खुला), यू–१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि, मास्टर्स ५५ वर्षमाथि (खुला) गरी १० विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कूल रु २१ लाख ६० हजार खर्च हुने उक्त प्रतियोगितामा पुरस्कारतर्फ रु ५ लाख ९८ हजार खर्च हुने बताइएको छ ।
लिग चरणको पुरुष एकल (राष्ट्रिय वरियतामा १६औं स्थानसम्म) र महिला एकल १२ औं स्थान सम्म) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीले प्रतियोगितामा सहभागिता जनाएबापत रु १ हजार ५०० प्राप्त गर्नेछन् । यस्तै लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप रु १ हजार ५०० प्राप्त गर्नेछन् ।
यस्तै क्वाटरफाइनलमा विजयी हुने खेलाडीले थप रु ८ हजार, सेमिफाइनलमा विजयी हुने खेलाडीले थप रु १६ हजार प्राप्त गर्नेछन् । फाइनलमा विजयी हुने खेलाडीले थप रु २० हजार र उपविजेता खेलाडीले थप रु ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै अन्य विधामा पुरुष एकल (१६औं स्थान बाहेक) र महिला एकल (१२औं स्थान बाहे), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथि र मास्टर्स युगल ५५ वर्षमाथिका पहिलो हुनेले रु २० हजार, द्वितीयले रु १० हजार र तृतीयले रु ५ हजार प्राप्त गर्नेछन् । यू–१७ पुरुष तथा महिला एकलतर्फ पहिलो हुने खेलाडीले रु १५ हजार, द्वितीयले रु ८ हजार र तृतीयले रु ४ हजार प्राप्त गर्नेछन् ।
