इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन – Sahayogi Man Nepal

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

इमर्जिङ नेपाल लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने ५ लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा सर्वसाधारणले आगामी फागुन १ गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन ११ गतेसम्म शेयर निष्काशन खुला रहने कम्पनीले जनाएको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य भएको कम्पनीको पूँजी संरचनाअन्तर्गत रु ५ अर्ब अधिकृत पूँजी छ । कम्पनीको हालको जारी पूँजी रु ५५ करोड ५६ लाख बराबरको तथा चुक्ता पूँजी रु ५० करोड ४० लाख छ ।

विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रु ५५ करोड ५६ लाख पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै