७ करोड वक्यौता असुल
काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु ७ करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।
तत्काल ५ करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् । ‘आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन’– कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने ।
कामपाले गत साउनको अन्तिम साता २ चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् ।
तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो । सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ ।
नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ । डा. अधिकारी भने– ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउछौं ।’
