आज सरस्वती पुजाः विद्यालय नगएका बालबालिकालाई अक्षरारम्भ गराइदै
विद्याकी देवी सरस्वतीको पुजा विशेष गरि विद्यार्थी, बालबालिका तथा शिक्षाका क्षेत्रमा काम गर्नेहरूले गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालय र इन्ष्टिच्युटहरूमा देवी सरस्वतीको धुमधामका साथ पुजा हुन्छ ।
बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास गरिन्छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई घरमा आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने विश्वास छ । देशका सवै विद्यालयहरुमा सरस्वतीको पूजा आरधना विशेष रुपले गर्ने प्रचलन छ ।
आजको दिन सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास गरिन्छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने पनि गरिन्छ ।
सरस्वतीको पूजा गर्नाले विद्या वुद्धिको वृद्धि हुने शास्त्रीयमान्यता पनि छ । सरस्वतीको पूजाले मनका कुत्सित विचारको अन्त्य हुने र कला साहित्य बिद्यामा अभिरुचि वढ्ने बताईन्छ ।
