३ स्रष्टालाई वि.सं. २०७८ को भैरव पुरस्कार
नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यसवर्ष ३ जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइटेललाई प्रदान गरिने छ ।
यो पुरस्कारको राशि रु १ लाख ११ हजार १ सय ११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ ।
पुरस्कारको राशि रु १ लाख १ हजार १ सय ११ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई अब वर्षेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले जानकारी दिए ।
त्यस्तै रु ५५ हजार ५ सय ५५ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार बिमल भौकाजीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्री ओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेकाे समिति गठन गरेको थियो ।
कोभिड–१९ को कहर कम हुने वित्तिकै औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
