श्रीपञ्चमी: आज बालबालिकालाई अक्षरारम्भ गराउने दिन – Sahayogi Man Nepal

श्रीपञ्चमी: आज बालबालिकालाई अक्षरारम्भ गराउने दिन

   February 14, 2024  

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी (आज) बुधबार देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहँदै आएको छ ।

आजकै दिन बालबालिकाहरूलाई अक्षरारम्भ गराउने प्रचलन चलिआएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत मन्दिरहरूमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ ।

आजको दिन बालबालिका मात्र नभएर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरू गर्ने गर्छन् । यसदिन विद्यालय र कलेजहरूमा पनि सरस्वतीको पूजाअर्चना हुनेगर्छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै