जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य
नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ ।
कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्थानीय तुलसी महतोले बताए । ‘स्थानीले कहिलेकाहीँ सफा गर्छन्, फेरि झार आउँछ, अलि राम्रोसँग सफा गर्ने हो भने ताल सुन्दर देखिने थियो,’ उनले भनिन् ।
करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरूवा ताललाई झारले नढाकेको क्षेत्र निकै थोरै बाँकी छ । ताललाई जलकुम्भी झारले ढाकेर अस्तित्व नै सङ्कटमा परे पनि यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । तालको सफाइ गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
तालको संरक्षणका लागि केही समयअघि योजना अघि बढेको भन्ने सुने पनि खास काम नभएको उनले भने । ‘पहिले एकपटक सफा गर्ने, ताललाई राम्रो बनाउने भनेर डोजरसमेत ल्याएर अलि अलि काम गरेथे, पछि के भयो, त्यतिकै छाडे, पूरा काम भएन, ताल उस्तै रह्यो,’ स्थानीय महतोले भने ।
‘टरूवा ताल सफा गरेर राम्रो बनाउन सके ताल हेर्न धेरै मानिस आउँथे वरपर व्यापार व्यवसाय बढ्ने थियो, स्थानीयसँगै सरकारलाई समेत आम्दानी हुने थियो,’ स्थानीय केशकुमारी महतोले भनिन । ताललाई झारले ढाक्दै गएकाले यसको संरक्षणको पहल गर्नुपर्ने उनले बताए ।
पूर्व—पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको टरूवा तालको सम्बन्ध कावासोती बजार विकाससँग समेत जोडिएको छ । कावासोती बजार विकासको प्रारम्भकालमा यहाँका बासिन्दाले पिउने र घरायसी प्रयोजनका लागि यसै तालको पानी प्रयोग गर्ने बताइएको छ ।
अन्य पानीको कुनै स्रोत नभएको र टरूवा ताल क्षेत्रमा पानीको अटुट मुहान रहेकाले सुरू सुरूमा सोही क्षेत्रबाट कावासोती बजार क्षेत्रमा पानीको आपूर्ति हुने गथ्यो । पछि केरूङले खोला, कोइलापानी क्षेत्रको मुहानबाट पानी ल्याउने योजना सञ्चालन भएपछि पानीका लागि तालसँग कावासोती बजारको निर्भरता हटेको हो ।
यस अर्थमा समेत महत्त्व बोकेको ताल हिजोआज आफैं संकटमा परेको छ । तालको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके जिल्लाकै महत्त्वपूर्ण स्थलका रूपमा परिचित हुने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए ।
उनले ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ संरक्षणका लागि स्थानीय बासिन्दासँगै स्थानीय सरकार लाग्नुपर्छ भने । ताललाई जलकुम्भी झारले ढाकेपछि यसको सरसफाइका लागि वडास्तरबाट काम गर्ने योजना रहेको कावासोती–७, का वडाअध्यक्ष गोविन्दप्रसाद महतोले बताए ।
वडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकालाई ताल सरसफाइमा खटाउने योजना बनाएको उनको भनाइ छ । ताल आफैंमा महत्वपूर्ण रहेकाले यसको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल भइरहेको उनको भनाइ छ ।
कावासोती नगरपालिकाले टरूवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न यस वर्ष ५० लाख रूपैयाँ विनियोजन गरेको वडाअध्यक्ष महतोले जानकारी दिए । ‘टरूवा ताल संरक्षणका विषयमा छलफल र बहसहरू चलेका छन्, मुख्य कुरा बजेट आवश्यक पर्ने रहेछ, अहिले थोरै विनियोजन भएको छ, केही काम यस वर्ष होला,’ अध्यक्ष महतोले भने ।
