नदीजन्य पदार्थको चोरी निकासी रोक्न सक्रिय छन् प्रहरीसँगै स्थानीय पनि
नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०–०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । ट्याक्टर सञ्चालकलाई जरिवाना गरी ३ लाख रकम असुलउपर गरिएको पनि उनले बताए ।
जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् । स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।
डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा संकलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।
‘त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ,’ उनले भने– ‘वन रक्षकको टोलीलाईसमेत अवैध रुपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ ।’
यसैगरी, इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने १ हजार ९ सय सवारीसाधनलाई कारबाही गरी १२ लाख ८८ हजार ५ सय रकम सङकलन गरी राजस्वमा जम्मा गरेको छ ।
त्यस्तै अवैध रुपमा चोरी तस्करी भएको ७४.९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ ।
