एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । ‘सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो,’ उनले भने । ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको उनको भनाइ छ ।
‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक छ,’ उनले भने ।
उनले जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई पनि वर्तमान सरकारले सही ट्र्याकमा ल्याएको बताए ।
आफूले यसपटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सङ्कल्प लिएको उल्लेख गर्दै उनले सोही सङ्कल्पअनुसार मुलुकको अवस्था बदल्न लागि परेको बताए । ‘जसले परिवर्तन ल्याउन लड्यो, त्यही पार्टी, विचार र नेतालाई चिन्ता हुन्छ,’ उनले भने– ‘यो परिवर्तनले जनतालाई राम्रो गर्यो कि गरेन । यो पटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा गरेको सङ्कल्प त्यही नै हो ।’
