विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी – Sahayogi Man Nepal

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी

एक महिलाले विदेशी नागरिक बनेर ८ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन् । प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर बिहे गरी विदेश लैजान्छु भन्दै रकम ठगी गरेको पाइएको छ ।

त्यसरी विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनी त्यसका लागि विभिन्न शुल्क लाग्ने र यसका लागि रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

सुरूमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी गर्ने ललितपुरकी महिला भएको पहिचान भयो, उनले भने । सुरूमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएप चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र आफू बेलायतको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीका अनुसार ती महिलाले पीडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु, भनी सम्पर्क गर्थिन् । त्यस्तै उनले नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, उपचार पठाइदिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाइदिएको छु भनेर पीडितलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउन भन्सार, डलर चार्जबापतको रकम लाग्ने भन्दै विभिन्न व्यक्तिको खातामा पैसा पठाउन लगाउने गरेको खुलेको छ ।

उनले पटकपटक गरी जम्मा ८ लाख ४० हजार रूपैयाँ पठाउन लगाएपछि ठगिएको थाहा पाई पीडित प्रहरीमा आइपुगेका हुन् । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान एवं कारबाही थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै