कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, एकजना पक्राउ
नेपाल प्रहरीले बैदेशिक रोजगाकारका लागि कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१०, गोरखा घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीया सुदीप लामा तामाङ रहेका छन् ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । तामाङले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने लोभ देखाएर ३१ लाख ठगी गरेको आरोप छ ।
उनले कम्बोडियाको प्रतिष्ठित कम्पनीमा कम्युटर अपरेटरमा काम लगाइदिने र मासिक दुई लाख पारिश्रमिक हुने भनी तीन जनालाई ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उनले जानकारी दिए ।
