साइपालमा खाद्यसंकट, चैनपुरबाट लैजाँदा चौबर बढ्छ चामलको मूल्य
साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको सात जनाको परिवार छ । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् ।
यसबाट तामाङको परिवारले वार्षिक ५–६ लाख आम्दानी गर्छ । त्योबाहेक उनीहरूको अन्य आम्दानीको स्रोत छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ ।
सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उनको परिवारले नौ क्विन्टल चामल किन्नुपर्यो। सहुलियत चामल (खाद्य संस्थानबाट प्राप्त) साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताए ।
तामाङ परिवारले एक वर्षमा १ लाख चामल ढुवानीमै खर्च गरे । चामलसँगै अन्य दैनिक उपभोग्य सामानमा पनि वार्षिक झन्डै १ लाख खर्च हुने गरेको उनले सुनाए । ‘सदरमुकाम चैनपुरमा पाउने सामान साइपालमा पुग्दा चौबर हुन्छ,’ उनले भने, ‘साइपालको धुली पुग्न चैनपुरबाट पाँच दिन पैदलयात्रा गर्नुपर्छ ।
पाँच दिन लगाएर बोकेको सामान तेब्बरभन्दा बढी नै हुन्छ ।’ चिसोले अलि बढी नै खाना खाने त्यसैमा दुवै छाक भात खाने हुँदा क्विन्टलका क्विन्टलनै खरिद गर्नुपरेको उनले बताए । सोनामको जस्तै अवस्था छ, साइपाल गाउँपालिका–५ बलौडीका पदम बोहराको ।
पदमको परिवारमा पाँच छन् । उनको परिवारलाई वार्षिक सात क्विन्टल चामल आवश्यक पर्छ । हिउँदेबाली कोदो र जौँ एक महिनामात्रै पुग्ने भएपछि नियमित किनेरै खानुपरेको उनले बताए । ‘गत वर्ष खाद्यको चामल डेढ क्विन्टलमात्रै पाएको हुँ,’ उनले भने, ‘त्यो चामल दुई महिनामात्रै पुग्यो । बाँकीका महिना किनेरै खायौँ ।’
ताक्लाकोट नाका बन्द हुँदा सास्ती
धुलीबाट नजिकै पर्ने हुँदा साइपालवासीका दैनिक उपभोग्य सामान ताक्लाकोटबाटै आउँथे । खाद्य संस्थानले दिने मूल्यभन्दा सस्तोमा चिनियाँ खाद्यान्न साइपाल पुग्थ्यो । तर, पाँच वर्षदेखि ताक्लाकोट नाका पूर्णरूपमा बन्द छ । नाका बन्द भएपछि साइपालवासी मारमा परेका छन् ।
‘ताक्लाकोट नाका बन्द भएपछि सदरमुकामबाट सामान ल्याउन सुरु गर्यौं । सदरमुकामबाट ल्याउँदा सामानको मूल्य चौबरभन्दा बढी पर्न थाल्यो,’ सोनामकी श्रीमती सोनाम तामाङले दुखेसो पोखिन् । साइपाल–५ न्यूनाका वडाध्यक्ष जैपाल बोहराका अनुसार ताक्लाकोटमा नाकाबन्दी हुनुअघि वडा नं ३, ४ र ५ का गाउँ न्यूना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतमा चिनियाँ सामान नै हुन्थ्यो ।
धलौनमा भने तलकोट गाउँपालिका पनि नजिक पर्ने हुँदा दुवैतिरबाट आवश्यकतानुसार सामान आउने गरेको उनी सम्झन्छन् । तर नाकाबन्दीपछि भने आवतजावत नै ठप्प भएको उनले बताए । दुई वर्ष अगाडि साइपालमा भोकमरी लागेपछि धुलीका भीम धामीले चैनपुरबाट चामल ल्याए ।
तलकोटको रूपातोलाका गोविन्द बोहरा, उनका दाई प्रदीपसहित तीन जनाले एक क्वीन्टल चामल धामीको घरमा पुर्याए । एक क्विन्टल चामल पुर्याएवापत भीमबाट प्रतिकेजी २ सय रूपैयाँका दरले २० हजार रूपैयाँ बोहरा दाजुभाइले बुझे ।
‘रूपातोलाबाट धुलीसम्म प्रतिकेजी रु २ सय लागेकै दररेट हो,’ गोविन्दले भने– ‘अरु सामान त २ सयकै दरले सधैँ बोकिन्थ्यो, अहिले पनि सोही मूल्य पर्ने सामान बोकिरहेका छौँ । चामल भने त्यसबखत नै पहिलो चोटी बोकेका हौँ ।’
मान्छेले चामल बोकेर साइपालको धुली पुर्याउँदा प्रतिक्विन्टल (मोटो चामल) साढे २२ हजारमा पुग्छ । खच्चडमा बोकाउँदा प्रतिक्विन्टल १३ हजार पर्छ । न्यूनाका जीवन बोहराले भने, ‘खच्चड हिउँदयाममा मात्रै आउँछ । बर्खामा खोलानाला बढ्ने हुँदा मान्छेले मात्रै आवतजावत गर्छन् ।
बर्खामा कसैको परिवारमा खाद्यसङ्कट भए बोकेरै ल्याउनुपर्छ । आफैँले बोक्न नसके भरियालाई ज्याला तिरेर ल्याउनुपर्छ ।’ गोविन्दका अनुसार किर्किट्या हुँदै कालडाँडाबाट न्युनासम्म प्रतिकेजी रु १ सय ८० ज्याला लाग्छ भने बलौडीसम्म १ सय ९० र धुलीसम्म प्रतिकेजी २ सय लाग्छ ।
‘हामी महिनामा चार–पाँचपटक साइपालको सामान बोकेर गन्तव्यमा पुर्याउँछौं,’ उनले भने । प्रायः फलामका रड, किला, जस्तापाता, भाँडाकुँडालगायतका विभिन्न सामान केजीको हिसाबले बोक्ने गरेको उनले बताए । ‘खाद्यको ढुवानी बढीजसो खच्चडबाट नै हुन्छ,’ उनले भने ।
ठेक्का प्रक्रियामा सास्ती
साइपालवासीले खाद्य सङ्कटको समस्या लिएर राज्यको दैलो चहार्न थालेको वर्षौं बितिसक्यो । करिब ३ हजार जनसङ्ख्या रहेको साइपालमा खाद्यान्नका लागि पालिकाले हरेक वर्ष सिंहदरबार चहार्दै आएका छन् । साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए ।
अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसके । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए। उनले भने,‘साइपालका लागि स्थायी डिपो नहुँदा सधैँ खाद्यान्नका लागि पिरलो हुन्छ ।
ठेकेदारले पनि आफूखुसी खाद्यान्न पुर्याउँदा वितरणमा समानता नहुने गरेको उनले बताए । साइपालमा खाद्यान्नका लागि यस वर्ष २ हजार ५ सय क्विन्टल चामलको ठेक्का परेको छ । चालु आर्थिक वर्षमा साइपालमा ढुवानी गर्ने गरी देवराज जोशीले ठेक्का लिएका छन् ।
तर चालु आवको १० महिना बित्नै लाग्दासमेत १ हजार ५ सय क्विन्टलमात्रै चामल पुगेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए । उनका अनुसार साइपालमा चामलको आवश्यकता ५ हजार क्विन्टल हो । तर ठेकेदारले समयमै ढुवानी नगर्दा न ठेक्का रद्द गर्न सकिने, न त थप्न नै सकिने भएको छ ।
‘साइपालमा खाद्यान्न नभएर कन्दमूलको खोजी गर्नुपर्ने अवस्था भइसकेको छ,’ उनले भने । ‘हामीले २ हजार ५ सय क्विन्टल चामल दशैँ अगावै पुर्याइसक्नुपर्थ्यो। त्यसपछि फेरि दोस्रो चरणमा थप २ हजार ५ सय क्विन्टलको तयारी गर्ने सोच बनाएका थियौँ ।
तर ठेकेदारले १० महिना बित्न लाग्दासमेत पहिलो ठेक्का नै पूरा गरेको छैन,’ उनले भने । अध्यक्ष बोहराका अनुसार अहिले साइपालमा गएको चामल पनि निश्चित व्यक्तिको कब्जामा गइरहेको छ । ‘स्थानीय सबैसँग धेरै खरिद गर्न पैसा पनि हुँदैन ।
व्यापारीदेखि हुनेखानेले बढी चामल राख्ने गरेको सुनिएको छ,’ अब निगरानी बढाउनुपर्ने उनले बताए । चालु आवका लागि साइपालमा गएको चामल वडा नं ४ र ५ मा बढी गएको छ । गएको मंसिरमा सबैभन्दा बढी न्यूना गाउँमा चामल गएको अध्यक्ष बोहराले बताए ।
यता वडा नं ५ का वडाध्यक्ष जैपाल पनि यसपटक भोकमरी टर्नेमा विश्वस्त छन् । ‘पहिलो लडमा टाढाका गाउँमा पठायौँ । अहिले आइरहेको छैन,’ उनले भने। अन्य वडामा भने दुई महिना पुग्ने गरी समेत चामल नगएको पालिका अध्यक्ष बोहराले बताए ।
साइपालमा कतै बढी त कतै कम खाद्यान्न गएकोबारे प्रमुख जिल्ला अधिकारी नारायण पाण्येयले पनि वितरणमा एकरूपता हुनुपर्ने बताए । योभन्दा अगाडि मनोमानी ढङगले चामल वितरण गरेको पाइएको उनले बताए ।
‘कुनै गाउँमा चार–पाँच महिनाकै लागि पुग्ने गरी चामल गएको देखिन्छ भने कुनै गाउँमा एक–एक बोरामात्रै चामल गएको छ । अब वडाध्यक्षहरूले आफ्नो मातहतमा लिएर नुन, खाद्यान्न वितरण गर्नुपर्छ,’ उनले भने । यसका लागि पत्राचार गरेको उनले बताए ।
