बैंक तथा वित्तीय संस्थामा रोजगारी चुनौतीपूर्ण छ– पूर्वगभर्नर चिरञ्जीवी नेपाल
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।
राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे ।
उडान शैक्षिक केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी) को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए ।
बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ, डाक्टर नेपालले भने, बंगलादेशको बैंकबाट डिजिटल माध्यमबाट पैसा निकाले घटना होस् वा अन्य किसिमका गतिविधि, चूनौतीपूर्ण बनिरहेको छ ।
कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना खाँचो रहेको पनि उनले औंल्याए । आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीलाई कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ थियो ।
