रास्वपाले सांसदलाई गरेको कारबाहीबारे संघीय संसद सचिवालयले अध्ययन गर्ने – Sahayogi Man Nepal

रास्वपाले सांसदलाई गरेको कारबाहीबारे संघीय संसद सचिवालयले अध्ययन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद सचिवालयले अध्ययन गर्ने भएको छ । रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई गत चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार संघीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको हो । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सोबारेको यथार्थ सभामुखलाई जानकारी गराउने संघीय संसदका प्रवक्ता एकराम गिरीले बताए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्न जुन विधि प्रक्रिया अपनाउनुपर्छ भनेको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसदमा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ । संसद नचलेको बेला छ सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्ने छ ।

गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो । आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रूपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने संघीय सचिवालयले जनाएको छ ।

सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रमअनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ ।

रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै