देशभर १४० स्थानमा डढेलो, काठमाडौंसहित विभिन्न ठाउँमा बढ्यो वायु प्रदुषण
पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ । पश्चिमी क्षेत्रबाट प्रदुषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन ।
विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका १ सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदुषण अत्यधिक बढेको पाइएको छ । प्रदुषण बिहान र बेलुकी अत्यधिक बढेको छ ।
विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चस्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडौंको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको मौसमविद्हरूले जनाएका छन् ।
वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमको तह नाघेको छ । ० देखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ तर बुटवलमा २ सय ९२, पाटनमा २ सय ३२, भक्तपुरमा २ सय २२, कीर्तिपुरमा १ सय ९१, मध्यपुर थिमिमा १ सय ८७, रत्नपार्कमा १ सय ८६ र हेटौँडामा १ सय ७४ छ ।
वायुको गुणस्तरको मात्रा १ सय ५१ देखि २ सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो मात्रा १०१ देखि १ सय ५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने बताइएको छ । यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ ।
