अवकाशपछि विष्णुमणि आचार्य कालिजपालन गर्दै – Sahayogi Man Nepal

अवकाशपछि विष्णुमणि आचार्य कालिजपालन गर्दै

तुलसीपुर उपमहानगरपालिका–६ का विष्णुमणि आचार्यले व्यवसायिक रूपमा कालिजपालन गर्दै आएका छन् । उपमहानगरको १० नम्बर वडास्थित नयाँ गाउँमा उनले कालिज फार्म सञ्चालन गरेका छन् । आचार्य अवकाशप्राप्त राष्ट्रसेवक हुन् । आजकाल कालिजलाई दानापानी खुवाउने र रेखदेख गर्ने उनको दैनिकी बनेको छ ।

‘अवकाश भएपछि चार महिनासम्म घरमै बसें । दिनभर घरपरिवार, साथीभाईसँग घुमफिर र आफन्तसँग भेटघाट गरेर समय बिताउँथे,’ अर्यालले भने । तीस वर्षसम्म जागिरमा व्यस्त रहेका आचार्यलाई अवकाशपछि केही नगरी बस्ने मन नै भएन । त्यसपछि कालिजपालनबारे बुझ्न थाले ।

कालिजपालनबारे सुरूमा उनले युट्युबलगायतका सामाजिक सञ्जालबाट जानकारी लिएका थिए । ‘युट्युबमा कालिजपालनको भिडियो हेरेँ । त्यसपछि कालिजपालन गरिएका दुई जिल्ला पुगेँ। घर फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरू गरेँ,’ उनले भने ।

उनले चाणक्य मल्टी प्रपोज एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि खोले। र, २५ लाख लगानीमा कालिजपालन सुरू गरे । ह्याचिङ गरी उत्पादन गरिएको एक दिन उमेर पुगेका १८१ बचेरा ५५० रूपैयाँका दरले किनेर फार्ममा हालेका थिए । आचार्यले अहिलेसम्म तीनसय भन्दा बढी कालिज बिक्री गरिसकेँ ।

‘अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्,’ उनले भने । आचार्यले आफ्नो फार्ममा एक जनालाई रोजगारी समेत दिएका छन् । आचार्यले सुरूसुरूमा एउटा कालिजलाई २५ सय रूपैयाँसम्म बिक्री गरे । अहिले दुई हजारसम्ममा दिने गरेका छन् ।

कालिजमात्रै होइन अहिले अन्डा पनि बिक्री हुन्छ, त्यसैले धेरै नाफाको अपेक्षा गर्दिनँ,’ उनले भने । कालिजको एउटा अन्डा सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । ६ महिना पुगेपछि कालिज वयस्क हुने र मासुका लागि उपयुक्त हुने आचार्य बताउँछन् ।

त्यस अवधिसम्म भाले कालिज एकदेखि डेढ किलो र पोथी कालिज ८ सय ग्रामसम्म हुने उनी सुनाउँछन् । कालिजलाई सामान्यतया घाँस, मकै खुवाउने गरेको उनले बताए । अन्डा दिने भएकाले पोथी कालिजलाई भने दाना पनि दिनुपर्ने उनको भनाइ छ ।

फार्म सञ्चालन गरेदेखि अहिलेसम्म कालिजलाई कुनैपनि रोग लागेको छैन । आचार्यले फार्म अवलोकन र खरिदका लागि आउनेहरूलाई जुत्ताचप्पल खोलेर खुट्टामा औषधि छर्केपछि मात्रै फार्मभित्र जान दिने गरेका छन् । फार्ममा उनले भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखेका छन् ।

अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । उनले यो वर्ष पोथी कालिज र चल्लाहरु एउटा पनि नबेच्ने र अर्को वर्ष धेरै बनाउने बताए । बजारमा माग त धेरै छ । तर, यो वर्ष पोथी कालिज र चल्ला एउटा पनि बेच्दिनँ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै