गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ–शंखमूलवासीलाई निमन्त्रणा – Sahayogi Man Nepal

गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ–शंखमूलवासीलाई निमन्त्रणा

हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ । काठमाडौं उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन ।

हाँडीगाउँमा भने लुकुमाद्यस्का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले जानकारी दिए  ।

आजको एक हप्तामा हाँडीगाउँमा लिङ्गो उठाइन्छ ।  लिङ्गो उठाएको एक हप्तापछि गहनापोखरीमा गहना खोज्ने जात्रा गर्ने गरी सबै तयारी गरिएको जानकारी पनि उनले दिए ।

जात्राका लागि पुजारी समूह, बाजा बजाउने समूहलगायतले भूमिका निर्वाह गर्नेछन् । डङ्गोल, प्रजापतिलगायत जातिको पनि जात्रामा फरक–फरक भूमिका हुने गरेको छ ।

जात्राका लागि बाजा, बत्तीलगायत व्यवस्थित गरिने वडा सदस्य विजयप्रकाश कर्माचार्यले जानकारी दिए । जात्राका नाममा रहेको गुठी जग्गा बेचिएपछि जात्राका लागि महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ ।

गुठी संस्थानबाट पूजा सामग्री र बलि सामग्रीको व्यवस्था हुने गरेको वडा कार्यालयले जनाएको छ ।  हाँडीगाउँ काठमाडौं उपत्यकाकै पुरानो सहर भएकाले पर्यटकीय रुपमा यसको विकास गरिने भएको छ ।

महानगरपालिकाको ११औं नगर परिषद् बैठकले हाँडीगाउँलाई पूर्वलिच्छविकालीन सहरकै स्वरुपमा विकास गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको पनि वडाध्यक्ष प्रजापतीले बताए । महानगरपालिकाले हाँडीगाउँका विषयमा छट्टै कार्यविधि बनाउन लागेको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै