कांग्रेससहित चार दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी – Sahayogi Man Nepal

कांग्रेससहित चार दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी

   February 24, 2023  

नेपाली कांग्रेससहित चार दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरू भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत छलफलमा जुटेका हुन् ।

छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूलाई पनि बोलाइएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बालुवाटारको छलफलमा सहभागी छन् । राष्ट्रपति निर्वाचन र यी दलबाट सहमतिमै उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताले बताए ।

संसदमा सबैभन्दा ठूलो दल आफूहरू भएकोले राष्ट्रपति पाउनुपर्ने अडान नेपाली कांग्रेसका नेताहरूको छ । अरू दलले भने राष्ट्रिय सहमति खोज्नुपर्नेमा धारणा राखिरहेका छन् । शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। चुनावका बेलाको पाँचदलीय गठबन्धन ब्युँताउने कोसिस पनि कांग्रेसलगायत दलहरूले गरिरहेका छन् ।

बिहीबार बेलुकी माओवादी, जसपा र एकीकृत समाजवादीले बैठक गरेर आज कांग्रेससहित संयुक्त छलफल गर्ने निर्णय गरेअनुसार बालुवाटारमा बैठक भएको हो । राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने बताइरहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार कांग्रेससहित दलहरूसँग र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरी कुराकानी गर्ने तयारी गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै