प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रवि लामिछानेको भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो । यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन् ।
नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको हो । लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ । पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ ।
