छाडा चौपायाका स्थानीयवासीलाई सास्ती – Sahayogi Man Nepal

छाडा चौपायाका स्थानीयवासीलाई सास्ती

   January 16, 2022  

सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ । गाँईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाँईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिंदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बन्दै गएको हो ।

कञ्चनपुरमा छाडिएका चौपायाको व्यवस्थापन नहुँदा स्थानीयवासीलाई निकै सास्ती खेप्नुपरेको छ । महेन्द्रनगर बजार, बेदकोट, कृष्णपुरसहित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा छाडा चौपायाका कारण स्थानीय बासिन्दाले हैरानी खेप्दै आएका छन् ।

छाडिएका चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानसमेत मर्कामा पर्न गएको छ । गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । यसैगरी छाडा चौपायाले सडक दुर्घटनासमेत निम्त्याउने गरेका छन् । ‘गाईलाई राष्ट्रिय जनावरका रुपमा राखिएको छ’– विश्वहिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले भने, ‘दूध दुहुंदासम्म घरमा राखिन्छ । दूध दिन छाडेपछि सडकमा ल्याएर अलपत्र छाडिन्छ ।

अलपत्ररुपमा छाडिएका गाँईलगायतका चौपायाको व्यवस्थापनमा स्थानीय सरकार उदासिन देखिएका छन् ।’ स्थानीय तहले गाँईलगायतका चौपाया व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरे पनि व्यवस्थापनमा जस्ताको त्यस्तैसमस्या रहेको उनले बताए । छाडा चौपाया बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पहिला जस्तै रहेको उनको भनाइ छ ।

छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र प्रदेश सचिव डा मदनसिंह धाँमीलाई भेटेर ध्यानाकर्षण गराइएको उनले बताए । ‘छाडा चौपाया व्यवस्थापनको भरपर्दो व्यवस्था गरी त्यसबाट उत्पादन र रोजगारी सिर्जना गर्न सकिनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं’– उनले भने– ‘त्यसबारे मन्त्री र सचिव सकारात्मक देखिएका छन् ।’

शुक्लाफाँटा नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन कार्य विगत ४ वर्षदेखि अगाडि बढाउँदै आएको छ । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन केन्द्र नै स्थापना गरी व्यवस्थापनको कार्य गर्दै आएको बताइएको छ । ‘राष्ट्रिय जनावर गाँईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गछौं’– उनले भने– ‘गाँईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशुकल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै