पानी नपरेका कारण प्रदूषण बढ्यो
पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ ।
सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ । हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को बिहीबार बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ ।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १ सय ५३ रहेको छ । यस्तै भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय ८ र धनकुटाको १ सय ६ रहेको छ । एक्यूआई सूचकाङ्क सयदेखि १ सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा १ सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ ।
सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । उक्त सूचकाङ्कअनुसार १ सय ५० भन्दामाथि २ सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि ३ सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ ।
सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।
