प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको अवस्थाबारे गरे अर्थमन्त्री र गभर्नरसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन र तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए ।
छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न र अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।
