पोलिट्ब्यूरो बैठकमा माधव नेपालको आक्रोश : नेतृत्वको बदख्वाइ गर्न बन्द गरौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेताको बदख्वाइँ गर्दै अरूको प्रशंसा गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् । मंगलबार पोलिट्ब्यूरो बैठकमा उनले मिडिया र बैठकबाहिर नेताका विरुद्ध नबोल्न निर्देशन दिएका हुन् ।
‘अनुशासन तोड्ने, आफ्नै स्वर ठूलो हुने ? बाहिर पार्टीको बदख्वाइँ गर्ने अनि हाम्रै स्वर ठूलो हुने ?,’ नेपालले भने, ‘आफ्नो नेताको बदख्वाइँ गर्ने अरू नेताको प्रशंसा गर्ने र आफ्नै स्वर ठूलो हुने तरिका बन्द गरौँ ।’ उनले आफ्ना कुरा पार्टी बैठकमा राख्न पनि आग्रह गरे ।
‘जे लागेको छ कमिटीभित्र राखौँ । आफ्ना लागेका कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने, यस्तो प्रक्रिया अपनाएर क्रान्तिकारी पार्टी बन्छ ?,’ अध्यक्ष नेपालले प्रश्न गरे । बैठकमा व्यापक छलफल गर्ने, कमिटी प्रणालीको आधारमा अगाडि बढ्ने, नयाँ क्रान्तिकारी पार्टी बनाउन लागिएको उनको भनाइ छ ।
