ज्ञानेन्द्र मल्ल भन्छन्– हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो
नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् ।
कुन खेलाडीलाई कसले अप्रोच गरेको भन्नेबारे मल्लले खुलाउन चाहेनन् । यो कुराले खेलाडीलाई असर पर्ने भन्दै उनले नाम बताएनन् । यसअघि नेपाल टी–२० लिगका कमेन्टेटर सचिन तिमल्सिनाले पनि प्रतियोगितामा धेरै शंकास्पद गतिविधि भएको बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै तिमिल्सिनाले शंकास्पद गतिविधिका बारेमा नेपाल क्रिकेट संघ क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी दिएको तर उनीहरुले कुनै चासो नदिएको आरोप लगाएका थिए । उनले खेलमा जित हारको नभइ स्पट फिक्सिङ् हुने गरेको आरोप लगाएका थिए ।
