लुम्बिनी अल स्टार विजयी
पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई २ रनले पराजित गदै विजयी भएको हो ।
लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रनमा समेटियो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए । त्यस्तै सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए ।
यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियोे ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन् । यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए । विपुल शर्मा ११ र अनिल शाह ६ रनमा आउट भए ।
यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १–१ विकेट लिए । यस जितसँगै लुम्बिनीको ४ अङ्क जोडिएको छ । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौंथोले रु ५ लाख पाउने छन् । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता छ ।
