काठमाडौंमा यस वर्षकै चिसो दिन
काठमाडौंमा आइतबार यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आइतबार ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौं सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।
यसैगरीआइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६.१ र जिरीको माइनस ० ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आइतबार पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद् भट्टराईले जानकारी दिए । उनका अनुसार आइतबार सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापनअनुसार त्यहाँ ३.६ मिलिमिटर, म्यादीको घोरेपानीमा १.५ मिलिमिटर र खोटाङको दूधकोकोसीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।
