‘बटमलाइन’ केही पनि छैन : अध्यक्ष पुष्पकमल दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । अध्यक्ष दाहालले भने– ‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ ।
समझदारीबाट अरुनै हुन पनि सक्छ ।’ गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले थपे– ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।’ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताए ।
गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताए । आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने छ भने । उनले भने– ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।’ आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए । उनले भने– ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।’
निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उनले बताए । अध्यक्ष दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे । उनलेभने– ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ ।’ राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल गरेका छैनौं भने । त्यो अहिले सम्भव पनि नरहेको उनको भनाइ थियो ।
नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग २–३ पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए । नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताए । उनले भने– ‘औपचारीक र आधिकारिक रुपमा कुरा भएको छैन ।’
सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए । नेपाल सरकारले विगत कालमा मधेश केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उनले बताए । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए ।
समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उनले बताए । सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उनले यसको समीक्षासमेत भइरहेको बताए । उनले भने– ‘यो समीक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अबसर आएको हामीले ठानेका छौं’, उनले भने– ‘माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने भन्न खोजिएको छ । त्यो सत्य होइन ।’
