बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार शेयरको बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल ५ लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार ४ सय २१ आवेदकले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार २ सय ८४ मध्ये ५१ हजार ५ सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
निष्कासित शेयरमा २७ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए । बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट (मेरो शेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
