वाग्मती सफाइको ५ सय हप्ता : २० हजार टन फोहर निकालियो – Sahayogi Man Nepal

वाग्मती सफाइको ५ सय हप्ता : २० हजार टन फोहर निकालियो

   December 11, 2022  

काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको ५ सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ । वि.सं. २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो ।

त्यसयता प्रत्येक हप्ता शनिबार बिहान २ घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।  सफाइ महाअभियान सुरु भएको ५ सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन ।

फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।  महाअभियान सुरु भएको साढे ७ वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउछन् । सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ ।

जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउछन् ।  सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ ।  अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेको सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउछिन् ।  काठमाडौं महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनीले जानकारी दिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै