राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी
१९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै विजयी भएको हो ।
खेलमा सुदूरपश्चिमले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२.५ ओभरमा १ सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए ।
सुदूरपश्चिमका लागि मिलन बोहोराले ६ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.३ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए । नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९–१९ रन बनाए । दीपक बोहोरा ११ रनमा आउट भए ।
गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १–१ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले रु २ लाख तथा उपविजेताले रु १ लाख पाउने छन् ।
