नुवाकोटमा आएनन् पर्यवेक्षक – Sahayogi Man Nepal

नुवाकोटमा आएनन् पर्यवेक्षक

   November 15, 2022  

मङ्सिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन् । यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि सङ्घसंस्था नआएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगबाट अनुमति लिने क्रममा जिल्लाका लागि पनि पर्यवेक्षण गर्न सूचीकृत भएको सुन्नमा आए पनि अहिलेसम्म कुनै पनि सङ्घसंस्था तथा तिनका प्रतिनिधि नआएको तथा आउन अनुमति लिनेको सङ्ख्या शून्य छ ।

‘अघिल्लो चुनावमा पर्यवेक्षण गर्न आउनेहरुको सङ्ख्या धेरै भएर सङ्घसंस्थालाई तोकिएको सङ्ख्याका प्रतिनिधि मात्रै खटाउन भन्ने गरिएको थियो’, निर्वाचन अधिकारी गौतमले भने, ‘निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुन्छ तर अहिलेसम्म के भएर हो कुनै सङ्घसंस्था पनि आएका छैनन् ।’

पर्यवेक्षकको आवागमनले चुनावको प्रचारप्रसारदेखि मतपरिणाम घोषणासम्मको वस्तुस्थिति सङ्कलन हुने र त्यसलाई प्रतिवेदन बनाएर सार्वजनिक गरिने भए पनि यो पटकको चुनावमा पर्यवेक्षण गर्न अहिलेसम्म सङ्घसंस्थाको रोजाइमा नुवाकोट देखिएको छैन ।

निर्वाचन पर्यवेक्षणका लागि सम्बन्धित सङ्घसंस्थाले आयोगबाट लिएको अनुमतिको लिखित जानकारी जिल्लामा गराएपछि उनीहरुको गतिविधिबारे जिल्ला निर्वाचन कार्यालयले सूचीकृत गर्नेदेखि प्रतिवेदनसमेत तयार गर्नु पर्दछ । पर्यवेक्षण गर्ने सङ्घसंस्थाले पनि पाएको तथ्यका आधारमा तयार गर्ने प्रतिवेदन जिल्लास्थित निर्वाचन कार्यालय वा आयोगको कार्यालयमा बुझाउनु पर्दछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै