रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका – Sahayogi Man Nepal

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

   November 14, 2022  

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब २ हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा १ हजार ९ सय ९५ महिला तथा बालबालिकालाई परामर्श दिएको संस्थाका जिल्ला संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

उनका अनुसार साउनमा ८ सय ५, भदौमा ७ सय १८ र असोजमा ४ सय ७२ असुरक्षित तथा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिइएको हो । यसमा अधिकांश अविवाहित रहेका छन् । १ हजार ४ सय ९४ अविवाहित तथा बालबालिका रहेका छन् ।

नेपालगञ्ज नाकामा अन्य सामाजिक सङ्घ संस्थाले समेत जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिने गरेका छन् । यो तीन महिनाको अवधिमा शान्ति तथा पुनःस्थापना केन्द्रले ७० जनाको उद्धार गरेको छ ।

त्यसमध्ये ४७ लाई अभिभावकको जिम्मा लगाइएको र २३ जनालाई प्रहरीको रोहवरमा परिवारको जिम्मा लगाइएको संयोजक सुवेदीले जानकारी दिए । शान्ति तथा पुनःस्थापना केन्द्र बाँकेमा बितेका तीन महिनामा खोजतलासका लागि ६३ निवेदन परेका छन् ।

यो समयमा रोजगारीका लागि भारतका विभिन्न सहर जान हिँडेका अधिकांश महिला तथा बालबालिका जोखिमपूर्ण अवस्थामा भेटिने गरेको केन्द्रका क्षेत्रीय संयोजक भूमि भट्टराईले बताए । उनले नेपाल प्रहरीसँगको समन्वयमा जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकालाई आवश्यक परामर्श र उद्धारका कार्य गर्ने गरिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै