सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच प्रतिस्पर्धा
आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले) का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ ।
कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत जोगाउँदै दोस्रो पटक जितेर संसद् प्रवेश गर्ने सोचमा छन् । वि.सं. २०४८ देखि सो क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ ।
वि.सं. २०७४ को चुनावमा एमालेका महतले कांग्रेसका कार्कीलाई १ हजार ३ सय ३ मतान्तरले पराजित गरेका थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार ७ सय २० मत प्राप्त गरेका थिए । अहिले सन्दर्भ बदलिएको छ । त्यस बेला महतलाई भोट हालेको नेकपा (माओवादी केन्द्र) ले यस पटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ भने एमाले फुटेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेसकै साथमा रहेको छ ।
पाँच वटा स्थानीय तह र ४० वडा रहेको सो निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र माओवादी केन्द्र र राप्रपाले १–१ वडा जितेका थिए भने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार ५ सय, कांग्रेसले ३८ हजार ५ सय ८७, माओवादीले १ हजार ७ सय ४२, राप्रपाले २ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको जनाउँदै पहिलो पटक जित निकाल्ने कांग्रेसका कार्कीको दाबी रहेको छ भने विरासत जोगाएर दोस्रो पटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत रहेका छन् ।
शकूल १ लाख २९ हजार २ सय ८० मतदाता रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
