हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु शुक्रबार जागा हुने धार्मिक विश्वास छ ।
शुक्रबार जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको शुक्रबार एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
यसैले टाढा–टाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ ।
मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको घुइँचो लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति २ बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो । नाराययणस्थानमा शुक्रबार ५ लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
बिहान ७ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजा आजा एवं दर्शन गरेको उनले बताए । साढे सात बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिएको मठले जनाएको छ ।बूढानीलकण्ठमा शुक्रबारदेखि कात्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ ।
यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत बूढानीलकण्ठमा घुइँचो लाग्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । यो कार्यक्रम गत कात्तिक १५ गतेदेखि नै सुरु भएको जनाइएको छ ।
तुलसीको विशेष पूजासहित विवाह गरिँदै
आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह शुक्रबार दामोदरसँग गरिदिने प्रचलन छ । शुक्रबार बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । शुक्रबार चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउछन् । यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको पुजारी शिवप्रसाद पौडेलले बताए ।
जोरपाटीस्थित नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका विभिन्न नारायण मन्दिरलगायत देशभरका नारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । नेपालीले आजै घर–घरमा तुलसीको विशेष पूजा गर्दैछन् । शुक्रबार विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ ।
हरिबोधिनी एकादशीका अवसरमा दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा मेला लाग्ने भएकाले शुक्रबार स्थानीय पर्व बिदा दिइएको नगरपालिकाका सूचना अधिकारी दीपकुमार केसीले जारी गरेको सूचनामा उल्लेख छ ।यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि शुक्रबार स्थानीय पर्व बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा उल्लेख छ ।
