को हुन् सत्यमोहन जोशी – Sahayogi Man Nepal

को हुन् सत्यमोहन जोशी

पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मीएका सत्यमोहन जोशीको आइतबार २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले वि.सं.२०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि वि.सं. २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए । जोशीले वि.सं. २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५, काव्य २ र कथा सङ्ग्रह ५ तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ । उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु २ हजार ५ सयका २५ हजार थान, रु १ हजारका २५ हजार थान र रु १ सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका वरिष्ठ साहित्यकार जोशीलाई वि.सं. २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मीएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै